शिक्षा विकास तथा समन्वय एकाइ, कञ्चनपुरको परिचय
शिक्षा विकास तथा समन्वय एकाइ, कञ्चनपुर नेपाल सरकारको जिल्लास्तरीय शैक्षिक समन्वय तथा सहजीकरण गर्ने निकाय हो। नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन भएसँगै स्थानीय तहलाई आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी महत्वपूर्ण अधिकार हस्तान्तरण भएपछि साविकका जिल्ला शिक्षा कार्यालयहरू खारेज गरी जिल्लास्तरमा संघीय सरकारका तर्फबाट शिक्षा सम्बन्धी कार्य सम्पादन, समन्वय तथा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय एकाइको व्यवस्था गरिएको हो।
नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७४ चैत २७ गतेको निर्णयअनुसार शिक्षा विकास तथा समन्वय एकाइ स्थापना भएको हो। प्रारम्भमा जिल्ला प्रशासन कार्यालयअन्तर्गत स्थापना भएको यस एकाइलाई मन्त्रिपरिषद्को वि.सं. २०७५ पुस ९ गतेको निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत जिल्लास्तरीय संघीय कार्यालयका रूपमा व्यवस्थापन गरिएको हो।
शिक्षा विकास तथा समन्वय एकाइ, कञ्चनपुरले संघीय शिक्षा नीति, ऐन, नियम, निर्देशिका तथा कार्यक्रमहरूको जिल्लास्तरमा प्रवाहीकरण, कार्यान्वयनमा सहजीकरण, अनुगमन तथा प्रतिवेदन गर्ने कार्य गर्दछ। साथै स्थानीय तह, विद्यालय, शिक्षक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाबीच आवश्यक समन्वय र सहकार्य गरी जिल्लाको शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको छ।
शिक्षा विकास तथा समन्वय एकाइका मुख्य कार्यहरु:
- सङ्घीय शिक्षा कानुन,नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपको प्रबोधिकरण र कार्यान्वयन गर्ने कार्य;
- सङ्घीय,प्रदेश र स्थानीय तहका सरकारहरुसँग शिक्षा सम्बन्धी कामहरुमा समन्वय गर्ने कार्य;
- शिक्षकहरुको नियुक्ति, सरुवा, बढुवा र अवकाश व्यवस्थापन गर्ने कार्य
- निवृत शिक्षकहरुको निवृत्तिभरण(पेन्सन)र उपदान सम्बन्धी कामको सहजीकरण गर्ने कार्य;
- माध्यमिक शिक्षा परीक्षा(SEE) लगायतका जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने कार्य;
- शैक्षिक प्रमाणपत्रहरुमा नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने कार्य;
- विपन्न लक्षित छात्रवृत्ति र द्वन्द्वपीडित छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा वितरण गर्ने कार्य;
- विद्यालयहरुको शैक्षिक गुणस्तर, पाठ्यपुस्तक उपलब्धता र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने कार्य;
- जिल्ला भित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको विवरण सङ्कलन गरी एकीकृत तथ्याङ्क व्यवस्थापन (IEMIS) मा अद्यावधिक गर्ने कार्य ;
- विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य;
- शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेका अन्य कार्य।